लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा नेपाली कांग्रेसद्वारा प्रदेशस्तरीय ‘निर्वाचन समीक्षा’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हालै सम्पन्न निर्वाचनको समग्र अवस्थाबारे समीक्षा गर्दै आगामी रणनीति, संगठन सुदृढीकरण तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देउकरण कलवार उर्फ सन्तुको विशेष सहभागिता रहेको थियो। मन्त्री कलवारले निर्वाचनबाट प्राप्त जनमतलाई सम्मान गर्दै संगठनलाई अझ बलियो बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यकर्ताबीच एकता, सक्रियता र जनतासँग प्रत्यक्ष सम्पर्क बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रदेश तथा जिल्ला स्तरका नेताहरू, जनप्रतिनिधि, पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचनका क्रममा भएका अनुभव, चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे आफ्नो धारणा राखेका थिए।नेपाली कांग्रेसले यस्ता समीक्षा कार्यक्रमले संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएको छ।