सशस्त्र प्रहरीको माइकिङपश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ६ झुलनीपुर क्षेत्रमा आज सशस्त्र प्रहरी बल नेपालले माइकिङमार्फत महत्वपूर्ण सूचना जारी गरेको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ओसारपोसार गर्दा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने व्यवस्था लागू भएको जानकारी स्थानीयवासीलाई गराइएको हो।सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध आयात–निर्यात नियन्त्रण, राजस्व चुहावट रोकथाम तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको जनाएको छ। माइकिङमार्फत सर्वसाधारणलाई नियम पालना गर्न आग्रह गर्दै तोकिएको सीमा नाघेर सामान ल्याउँदा कानुनी कारबाही हुन सक्ने चेतावनी समेत दिइएको छ।स्थानीय स्तरमा दैनिक उपभोग्य सामग्री भारतबाट ल्याउने चलन रहेकाले नयाँ सूचनापछि सीमा क्षेत्रमा निगरानी कडाइ गरिएको बताइएको छ। सशस्त्र प्रहरीका अनुसार १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार प्रक्रिया पूरा गर्नुपर्नेछ, अन्यथा सामान जफत हुने तथा आवश्यक कारबाही अघि बढाइनेछ।यस निर्णयले सीमा क्षेत्रमा हुने साना–ठूला व्यापारिक गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ भने सर्वसाधारणलाई नियमअनुसार सामान ल्याउन अनुरोध गरिएको छ।
